काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्डले' विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेका नेपाली क्रिकेट टोलीलाई बधाई दिंदै प्रति खेलाडी ३ लाख पुरस्कार दिने घोषणा गरेका छन्। 

शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा विजेता खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, 'मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ। आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु। विश्वकप छनोटमा तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछु। यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।'

'कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु', प्रधानमन्त्रीले भने, 'यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।'

बागमती प्रदेशले राष्ट्रिय क्रिकेट टोलीलाई जनही १ लाख दिने

विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन्। 

‘खेलाडीको सम्मान र हौसालाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौं’, उनले भने। बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन्। 

गुल्सन झा र आरिफ शेखलाई मधेस प्रदेशले जनही २ लाख दिने

मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख पुरस्कार दिने भएको छ । 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्रदेशले टोलीका महत्वपूर्ण खेलाडीद्वय झा र शेखलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । दुवैजना मधेसबाट प्रतिनिधित्व गर्ने खेलाडी रहेको उल्लेख गर्दै प्रदेश सरकारले जनही दुई लाख प्रोत्साहनस्वरुप दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए। 

सानदार जित हासिल गरेकामा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली टोलीलाई बधाई ज्ञापनसमेत गर्नुभएको छ । 

नेपालले डकवर्थ लुइस नियमका आधारमा बिहीबार घरेलु मैदान कीर्तिपुरमा यूएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो।