काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको यूएईले ६ विकेट गुमाएर ३१० रनको योगफल तयार गरेको थियो।

खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डकवर्थ लेविस मेथडमा पाएको २६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो।

नेपालका लागि कुशल भुर्तेलले ३५ बलमा तीन चौका र चार चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनको अर्धशतकीय इनिङ खेलेर आउट हुँदा आरिफ शेखले ६२ बलमा दुई चौकासहित ५२ रनको महत्त्वपूर्ण इनिङ खेले। यस्तै, गुल्शन झा ५० रनमा अविजित रहँदा दीपेन्द्रसिंह ऐरीले अविजित १० रन बनाएका थिए।

यूएईका लागि जुनेद सिद्धिक्वीले सर्वाधिक तीन, आयान खानले दुई तथा जहुर खानले एक विकेट लिए।

यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।

त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै, ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक-एक विकट लिए।

सन्दीपले १० ओभरमा ८०, सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए।

जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। नेपालले दुई खेल अगावै एकदिवसीय मान्यता जोगाइसकेको थियो।

ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ।

नेपाली टिमलाई बधाई : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वकप छनोटमा पुग्न सफल नेपाली टिमलाई बधाई दिएका छन्। 

नेपालको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका उनले सामाजिक सञ्जालबाट नेपाली खेलाडी, प्रशिक्षक, क्यानलगायतलाई बधाई दिएका छन्।

उनले भनेका छन्, 'आईसीसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!'

हामी गौरवान्वित छौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप छनोटमा स्थान पक्का बनाउने नेपाली टिमलाई बधाई दिएका छन्। 

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेपाली टिमलाई बधाई दिएका हुन्। 

ट्वीटमा ओलीले भनेका छन्, 'युएईविरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ! हामी गौरवान्वित छौँ, नेपाल गौरवान्वित छ।'