काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ।

ललितपुरको च्यासल रंगशालामा भएको खेलको २१औं मिनेटमा मनीष थापाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा पुन: एक गोल थपेको थियो। स्टेफन समिरले गरेको गोलसँगै २-० ले अगाडि रहेको खुमलटारले ७९औं मिनेटमा एक गोल खाएको थियो।

निर्धारित समयको खेल सकिन ११ मिनेट बाँकी रहँदा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन। 

जितसँगै खुमलटारले चार खेलबाट ६ अंक जोडेको छ। यस्तै, हिमालयन शेर्पाले पनि समान चार खेलबाट चार अंक नै जोडेको छ।