काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पहिलो अंक जोडेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लबसँग भएको खेलमा दुवै टिमले गोलका लागि मौका बनाए पनि फिनिसिङमा चुक्दा दुवै टिम अंक बाँड्न बाध्य भए।

दोस्रो मिनेटमा मछिन्द्रका मिडफिल्डर पुजन उपरकोटीले गरेको सशक्त प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो। सुरुवातदेखि नै रोमाञ्चक बनेको खेलको सातौं मिनेटमा मनाङका विसोन गुरुङले पेनाल्टी एरिया अगाडिबाट गरेको प्रहार सोझै मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातमा पुगेको थियो।

पहिलो हाफको खेल सकिन चार मिनेट बाँकी रहँदा रन्जित धिमालको क्रसमा विमल घर्ती मगरले हेडरमार्फत गरेका प्रहार क्रसबार नजिकबाट बाहिरिएको थियो।

मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ७३औं मिनेटमा दायाँतर्फबाट गरेको क्रसमा साविक विजेता गोल नजिक पुगेको थियो। तर, विजय गुरुङले हेडरमार्फत मिलाइदिएको पासमा विमल घर्ती मगर चुक्दा मछिन्द्रले अग्रता लिने सुन्दर मौका गुमायो।

मछिन्द्रका सौरभ लिम्बुले ८१औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रभाव पोल नजिकबाट बाहिरिएको थियो। 

बराबरीसँगै साविक विजेता मछिन्द्रले लिगमा पहिलो अंक जोडेको छ। मछिन्द्र लिगको पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित भएको थियो।

यस्तै, मनाङले तीन खेलबाट पाँच अंक जोडेको छ। पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग १–१ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटा क्लबलाई १–० ले हराएको थियो।

आजै च्यासल रंगशालामा भएको खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले ३–३ गोलको बराबरी खेलेका छन्। आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जले एक–एक गोल गरे।

यस्तै, एनआरटीका लागि लालमिन्जामाले दुई तथा जिन बोउमीले एक गोल गरेका थिए।