काठमाडौं - सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध ३–० को शानदार जित निकालेको छ। 

च्यासल रंगशालामा भएको खेलको १२औं मिनेटमा गणेश हमालले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको पुलिसले दोश्रो हाफको अन्तिम १० मिनेटमा थप दुई गोल खायो।

रोशन पहरीले ८०औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर पारे। त्यसको ६ मिनेट नबित्दै सुरज ठकुरीले अर्को गोल गर्दै संकटाको जित सुनिश्चित गरे।

जितसँगै संकटाले चार अंक जोडेको छ। पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको संकटा दोस्रो खेलमा मनाङ मर्स्याङ्दीसँग १–० ले पराजित भएको थियो।

सुरुआती तीन खेलमा जितविहीन नेपाल पुलिस क्लबको खराब यात्रा कायमै छ। पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडसँग २–१ ले हारेको पुलिस दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग १–० ले हारेको थियो।

आजै दशरथ रंगशालामा भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलविहीन बराबरी खेलेका छन्। 

बराबरीसँगै जावलाखेलले तीन खेलबाट सात अंक जोडेको छ। पहिलो खेलमा मछिन्द्रलाई ३–१ ले पराजित गरेको जावलाखेलले दोस्रो खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ ले हराएको थियो।

बराबरीसँगै एपीएफले चार अंक बनाएको छ। पहिलो खेलमा थ्री स्टारलाई २–० ले हराएको एपीएफ दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १–० ले हारेको थियो।