काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम शृंखला अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले कीर्तिमानी ९ विकेटको फराकिलो जित निकालेको छ। 

सन्दीप लामिछानेले ५ विकेट लिएको खेलमा नेपालले पीएनजीलाई ९५ रनमा अलआउट गरेको थियो।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले ३२ औं ओभरमा पीएनजीलाई अलआउट गरेपछि ९६ रनको झिनो लक्ष्य पाएको थियो। जवाफी ब्याटिङ नेपालले ७.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि ओपनर आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रन जोडेर अविजित रहे।

पहिलो विकेटका लागि कुशल भुर्तेलले आसिफसँग ५१ रनको साझेदारी गरे। यस्तै, कुशल मल्लले १३ बलमा १२ रन जोडेर अविजित रहे। पीएनजीका लागि चाड सोपरले एक विकेट लिए। 

नेपालका लागि सशक्त बलिङ गरेका सन्दीप लामिछानेले १० ओभरमा २५ रन खर्चेर एक मेडनसहित सर्वाधिक ५ विकेट लिएका थिए। ललित राजवंशीले ७ ओभरमा १३ रन खर्चेर एक मेडनसहित २ विकेट लिए। यस्तै, कुशल मल्लले ३ ओभरमा ६ रन खर्चेर एक मेडनसहित २ विकेट लिए। ५ ओभरमा २२ रन खर्चिएका सोमपाल कामीले २ मेडनसहित एक विकेट लिए।

पीएनजीका हिरी हिरीले १४ रन र सेसे बाउले १८ रन जोडे। यस्तै कप्तान आसाद भालाले २० रन र चार्ल्स अमिनीले १६ रन जोडे।

घरेलु मैदानमा लिग २ को अन्तिम शृंखला खेलिरहेको नेपाल जितसँगै शीर्ष ३ मा पुग्न एक कदम मात्रै बाँकी छ। बिहीबार हुने यूएईविरुद्धको खेलमा जित निकाले नेपालले शीर्ष तीनमा रहँदै अर्को वर्ष भारतमा हुने एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ।

आइतबार यूएईलाई १७७ रनले पराजित गर्दै नेपालले आगामी चार वर्षका लागि एकदिवसीयमा मान्यता जोगाइसकेको छ।

पीएनजीविरुद्ध नेपालले हासिल गरेको विकेटको आधारमा सर्वाधिक फराकिलो जित हो। यसअघि नेपालले २०२० को फेब्रुअरी १२ मा लिग २ त्रिदेशीय शृंखलामा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो। उक्त खेलमा सन्दीपले ६ तथा सुशन भारीले ४ विकेट लिएका थिए।