काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम शृंखलाको दोस्रो खेमला यूएईलाई १७७ रनले पराजित गरेसँगै दुई खेल अगावै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल तयार गरेको थियो। २४९ रनको लक्ष्य पछ्याएको यूएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमै सिमित भयो। 

नेपालका लागि ललित राजवंशीले ७.५ ओभरमा २० रन खर्चेर दुई मेडनसहित सर्वाधिक ५ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। त्यसबाहेक दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए। यूएईका लागि आयान खान बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। 

आठौं ओभरमा दुवै ओपनरसहित ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र भीम सार्कीले ५४ रनको महत्त्वपूर्ण साझेदारी गरे।

भीम ३७ बलमा ४ चौकासहित २९ रन बनाएर आउट भए। पाँचौँ नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेखले रोहितसँग ८६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्याए।

रोहितले ११२ बलमा ९ चौकासहित ७७ रनको अर्धशतकीय इनिङ खेले। आरिफ शेख ५२ बलमा ५ चौकासहित ४३ रन जोडेर आउट भए। गुल्शन झाले ३२ बलमा १ चौका र ३ छक्कासहित ३७ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३ चौका र २ छक्कासहित ३४ रन जोडे। 

यूएईका लागि आयान खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले २–२ विकेट लिए। आर्यान लाक्रा र जुनेद सिद्धिक्वीले १–१ विकेट लिए।

दुई खेल अगावै एकदिवसीय मान्यता जोगाउन सफल भएको नेपालले यो जितसँगै शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ। आजको खेलमा पराजित भएसँगै यूएईले एकदिवसीय मान्यता जोगाउने गणितीय सम्भावना मात्र बाँकी छ।