काठमाडौं - अजयी मार्टिन्सको दुई गोलको मद्दतले थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा खुमलटार फुटबल क्लबलाई २-० ले पराजित गरेको छ। 

खेलको ५४ औं मिनेटमा लकेन लिम्बुको पासलाई पेनाल्टी एरिया भित्र नियन्त्रणमा लिएर मार्टिन्सले पहिलो गोल गरेका थिए। वान् भर्सेज वान्मा मार्टिन्सको सटिक प्रहार सोझै गोलमा परिणत भएको थियो।

निर्धारित ९० मिनेटको खेल सकिन सात मिनेट बाँकी रहँदा मार्टिन्सले खुमलटारका डिफेन्डर पदम भट्टराईलाई बिट गर्दै दोश्रो गोल गरेका थिए।

जितसँगै थ्री स्टारले तीन खेलबाट चार अंक जोडेको छ। लगातार दुई खेलमा पराजित खुमलटारको तीन अंक छ।