काठमाडौं - जारी शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पहिलो खेलमै साविक विजेता मछिन्द्रलाई हराएको जावलाखेलले एनआरटीलाई २-१ ले हराउँदै सिजनको दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि कप्तान सिमान्त थापाले खेलको ६८ औं मिनेटमा पहिलो गोल गरे । खेलको ७७ औं मिनेटमा दोश्रो गोल गर्दै फोडे फोफानाले जावलाखेलको जित सुनिश्चित गरे ।

एनआरटीका लागि सन्जिव विष्टले खेलको ८० औं मिनेटमा सान्त्वना गोल गरे ।

पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग पराजित भएको एनआरटी लगातार दोस्रो हारपछि अंक बिहीन छ ।

पहिलो खेलमा मछिन्द्रलाई हराएको जावलाखेलको भने ६ अंक भएको छ ।