काठमाडौं - जारी सहिद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग २–० ले पराजित भएको छ।

योसँगै पहिलो खेलमा जावलाखेल युथ क्लबसँग ३–१ ले पराजित भएको मछिन्द्रले लिगका सुरुआती दुई खेलमा लगातार पराजय भोगेको हो।

गत सिजन अपराजित रहँदै च्याम्पियन बनेको मछिन्द्रले आर्मीसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।

दोस्रो हाफमा आक्रमक बनेको आर्मीका लागि ४८ औं मिनेटमा दीपक गुरुङले हेडरमार्फत गोल गरेका थिए। मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले आर्मीका दीपकलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएको पेनाल्टीमार्फत आर्मीका नवयुग श्रेष्ठले अग्रता दोब्बर पारे।

दुई गोलले पछि परेको मछिन्द्रले खेलमा फर्किने कोसिस गरे पनि फिनिसिङमा चुक्दा लगातार दोस्रो खेलमा पराजित हुनुपर्‍यो।

पहिलो खेलमा संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको आर्मीले दुई खेलबाट चार अंक जोडेको छ। यस्तै, लगातार दुई खेलमा पराजय भोगेको मछिन्द्र अंकविहिन छ।