काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ५२ रनको जित निकालेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रनको योगफल तयार गरेको थियो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। 

२९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २४५ रन मात्रै बनाउन सक्यो। 

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३७ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र र कुशल मल्लले एक विकेट लिए। नेपालले एक विकेट रन आउटमा लिएको थियो।

पीएनजीका नोमन भानुवाले ५५ बलमा६० रन जोडे भने टोनी उराले ५० रन बनाए। यस्तै, कप्तान आसाद भाला ४२ र किप्लिन डोरिगा २६ रन जोडेर आउट भए। 

नेपालका लागि ओपनर आसिफ शेखले ११० बलमा १२ चौका र दुई छक्कासहित ११० रनको शानदार इनिङ खेले। यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ५६ बलमा ६ चौकासहित ४५ रन जोडे। भीम सार्कीले ३८ बलमा चार चौकासहित ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३० रन जोडे। 

पीएनजीका लागि सेमो कामेयाले ९.१ ओभरमा ३८ रन खर्चेर सर्वाधिक ५ विकेट लिए। यस्तै, रिले हेकुरेले ३ तथा अलेई नाओले १ विकेट लिएका थिए।

नेपालले बाँकी तीनै खेलमा जित निकाले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस्तै, दुई खेल मात्रै जिते पनि नेपालको एकदिवसीय मान्यता जोगाउन पर्याप्त हुनेछ।