काठमाडौं - जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज एफसी खुमलटारलाई ३–१ गोलले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा चर्च ब्वाइजका लागी आशिष चापागाईले दुई गोल गरे भने एरिक विष्टले एक गोल थपे। खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए।

जितसँगै चर्च ब्वाइज २ खेलबाट ६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। २ खेलबाट ३ अंक जोडेको खुमलटार तालिकाको पाँचौँ स्थानमा छ।

त्यस्तै, शहीद स्मारक ‘ए’ डिभिजन लिगको अर्को खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबले बराबरी खेलेका छन्। 

ललितपुरको च्यासल रंगशालामा भएको खेलमा फ्रेन्ड्स र थ्री स्टारले ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्। 

खेलको दोश्रो मिनेटमै गोल गर्दै मार्टिन्सले थ्री स्टारलाई खेलमा अग्रता दिलाए । फ्रेन्ड्सका लागी कुशल फुयाँलले १५ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

२४ औँ मिनेटमा गोल गर्दै योगेश गुरुङले थ्री स्टारलाई पुन: अग्रता दिलाए । अख्रोरबेक उक्तमोभले ४३ औँ मिनेटमा गोल गर्दै खेललाई पुन: बराबरीमा ल्याए । 

८७ औँ मिनेटमा प्रदिप लम्सालको गोलसँगै अग्रता लिएको थ्री स्टारका अनिल महर्जनको इन्ज्युरी समयमा भएको आत्मघाती गोलसँगै खेल ३-३ म सकिएको थियो ।

बराबरीसंगै फ्रेन्ड्स दुई खेल खेल्दै १ अंकका साथ तालिकाको १० औं स्थानमा छ भने समान खेल खेलेको थ्री स्टार पनि १ अंकका साथ तालिकाको ११ औं स्थानमा छ।

प्रतियोगीता अन्तर्गत बुधबार नेपाल पुलिस र हिमालयन शेर्पा , एपिएफ र सातदोवाटो तथा मनाङ र संकटाबीच प्रतिष्पर्धा हुनेछ।