काठमाडौं - भलिबल तर्फकी अरुणा शाही र फुटबल तर्फका अञ्जन बिष्ट १९औं संस्करणको एनएसजेएफ बजार पल्सर स्पोर्ट्स अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गरेको कार्यक्रममा पुरुषमा अञ्जन र महिलामा अरुणा वर्ष खेलाडी घोषित भए। साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्‍याउन मद्दत गरेका अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे। आफ्नैमा कप्तानी बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन्। 

भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन्। सर्वाधिक ३८ प्रतिसत मत प्राप्त गर्दै विजेता भएकी उषाले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन्। यो अवार्डको मनोनयनमा क्रिकेटका आसिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए। यो अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पाए। उनको प्रशिक्षणमा नेपाल माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो। अब्दुल्लाहले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे। 

फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए। उनले फुटबलकै प्रीति राई, ब्याटमिन्टनकी रसिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जिते।

मनीषले अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाली फुटबलको हेभिवेट राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए। साथै साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनीषले सोही वर्ष मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

यससँगै मनीषले पनि बजाज पल्सर मोटरसाइकल प्राप्त गरे। पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन्। उनले ट्रफीसँगै ५० हजार नगद पुरस्कार पाइन्। पलेशाले जापानमा सम्पन्न पारालम्पिकमा कांस्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन्। सोही वर्ष नै पलेशाले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन्। 

अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन्। एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते। 

स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवि मोक्तान सम्मानित भए। आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल तामाङ दम्पतीले विशेष अवार्डका साथै ५० हजार रुपैयाँ पाए। तामाङ दम्पती राष्ट्रिय च्याम्पियनत्रय सरादेवि, नङ्सल र रत्नजित तामाङका बुबा आमा हुन्। 

२०७७ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्‍याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो।