काठमाडौं - यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपाल यूएईविरुद्ध ४२ रनले विजयी भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा यूएईलाई १८७ रनमा अलआउट गर्दै नेपाल विजयी भएको हो । यूएईलाई ४२ रनले पराजित गरेसँगै नेपालले शिर्ष तीनमा रहेर विश्वकप छनोट खेल्ने सम्भावना बचाई राखेको छ। 

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रेको युएई ४५ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनमा सिमित भयो । 

यूएईका लागी आसिफ खानले सर्वाधिक ८२ रन योगदान गरे भने आर्यान लाक्राले ५० रन बनाए । भृत्य अर्विन्दले १३ रन योगदान गर्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भए । 

नेपालका लागी दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर ३ विकेट लिए । त्यबाहेक सन्दीप लामिछाने, करण केसी र आरिफ शेखले समान १-१ विकेट लिए ।

नेपालका भिम सार्कीले ७० रनको योगदान दिए भने आरिफ शेखले ४३ र कुशल मल्लले ३२ रन जोडे ।

यूएईका जुनैद सिद्दिकीले ३ विकेट लिए भने रोहन मुस्तफा र आर्यन लार्काले २-२ विकेट लिए । त्यस्तै पलनियापन मियाप्पानले १ विकेट लिए।