काठमाडौं - लगातार दुई पटकको च्याम्पियन मछिन्द्र फुटबल क्लब जारी सहिद स्मारक ए डिभजिन लिगको पहिलो खेलमै ३-१ ले पराजित भएको छ।

दशरथ रंगशालामा जावलाखेल युथ क्लबविरुद्धको खेलमा आफ्नो अग्रता जोगाउन नसक्दा मछिन्द्र पहिलो खेलमै ३-१ ले पराजित भएको हो।

जावलाखेलका विशाल तामाङले २३औं मिनेटमा पेनाल्टी एरिया अगाडि ह्यान्ड गरेपछि मछिन्द्रले फ्रि-किक पाएको थियो। सोही फ्रि-किकमार्फत मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङले उत्कृष्ट गोल गरेका थिए। मछिन्द्रलाई निरन्तर दबाबमा राखेको जावलाखेलका लागि हिसुब थपलियाले ५९औं मिनेटमा गोल फर्काए।

बराबरीपछि झन् दबाबमा परेको मछिन्द्रका दिवाकर चौधरीले ६४औं मिनेटमा दिएको ब्याक पासमा विशालको फितलो प्रहार अन्मार्क्ड रहेका एनकोटो मासोयाबीसामू पुगेपछी मासोयाबीले खाली पोष्टमा सहज गोल गरेका थिए।

मछिन्द्रका अभिषेक गुरुङले ७६औं मिनेटमा जावलाखेलका फोफानाविरुद्ध फाउल गरेपछि पेनाल्टी बक्सको छेउमा फ्रि-किक पाएको थियो। सोही फ्रि-किकमार्फत हिसुबले गरेको प्रहारमा मछिन्द्रका गोलकिपर विशाल चुक्दा कप्तान सिमन्त थापाले हेडरमार्फत जावलाखेलका लागि तेस्रो गोल गरेका थिए।

जितसँगै जावलाखेलले तीन अंक जोडेको छ। गत सिजन पूरा सिजनमा दुई गोल मात्र खाएको मछिन्द्रले यसपाली पहिलो खेलमै तीन गोल बेहोरेको छ। मछिन्द्र र जावलाखेलको खेलसँगै लिगको पहिलो चरण समाप्त भएको छ।