काठमाडौं - हिजोबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले गोलरहित बराबरी खेलेका छन्। 

दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलका लागि प्रयास गरे पनि अपेक्षित फिनिसिङ गर्न नसक्दा अंक बाँड्न बाध्य भए।

खेल अवधिभर आर्मीविरुद्ध निरन्तर आक्रमणको प्रयास गरेको संकटाले विभागीय टिमको रक्षापंक्ति छिचोल्न सकेन। संकटाविरुद्ध निरन्तर दबाबमा परेको आर्मीले विरलै मौका पाए पनि सदुपयोग गर्न सकेन।

बराबरीसँगै आर्मी र संकटाले एक–एक अंक बाँडेका छन्। 

यस्तै, च्यासल रंगशालामा भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ। ।

सातदोबाटोका लागि दीपकराज ठकुरीले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयमै एनआरटीका सङले बराबरी गोल फर्काएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ६ मिनेट बाँकी रहँदा दीपकले पुन: गोल गर्दै सातदोबाटोलाई जित दिलाउँदै तीन अंक सुरक्षित गरे।