काठमाडौं - पहिलो पटक शहीद स्मारक ‘ए’ डिभिजन लिगमा प्रवेश गरेको एफसी खुमलटारले फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा खुमलटारलाई जित दिलाउन मेसुके ओलोउमोले खेलको अन्तिम समयमा एक मात्र गोल गरे ।

खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बाले अंक पाएकोमा आफूहरु खुसी रहेको र आगामी दिनमा खेलमा अझ सुधार गर्दै जाने बताए । "हामीले राम्रो खेलेपनी पहिलो हाफमा समन्वयको अभाव थियो। दोस्रो हाफमा हामीले राम्रो खेल्यौं," सुब्बाले भने। सुब्बाले ‘ए’ डिभिजन लिगमा क्लबको यो पहिलो खेल भएको र सबै कुरा अपेक्षा गरेजस्तो सहज नहुने बताए। 

फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले खेलमा खुमलटारको ओलोमाउ र बिनोङको प्रदर्शनको प्रशंसा गरे । "उनीहरूले हाम्रा लागि खेलभर अप्ठ्यारो पारे। हामीले आजको खेलमा बल पोसेसन कायम राख्न सकेनौं," श्रेष्ठले भने। श्रेष्ठले ओलोउमोको गोल ह्यान्डबल रहेको आफ्नो टोलीलाई विश्वास रहेको बताए। "हाम्रा खेलाडीहरूले पनि यसबारे गुनासो गरे तर ह्यान्डबल दिईएन," उनले भने।

आजै दिउँसो २:३० बजे च्यासल रंगशालामा नेपाल पुलिस क्लबले ‘ए’ डिभिजन लिगमा उक्लिएको टोली चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ भने नेपाल एपिएफ क्लबले दशरथ रंगशालामा थ्रीस्टार क्लबसँग खेल्नेछ । आजको तेस्रो खेल मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।