काठमाडौं - यूएईविरुद्ध ७ रनको जित निकाल्दै नेपाल यू-१९ टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू-१९ विश्वकपका लागी छनोट भएको छ। 

यूएईको अज्मानस्थित इडेन गार्डेन ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टिम यूएईलाई १९३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रन मात्रै बनाउन सक्यो।

नेपालका लागी देव खनालले ३ चौका र एक छक्का प्रहार गर्दै ५१ रन जोडे भने बिशाल बिक्रम केसीले ३८ रन र उताम रङु थापा मगरले ३६ रन बनाए । यूएईका लागी ध्रुव पराशरले ३ विकेट लिए भने हरित हरिश शेट्टी र आयान अज्फल खानले २-२ विकेट लिए । त्यस्तै, हर्शित शेठ र अम्मर बादामीले १-१ विकेट लिए । 

यूएईका लागी ईथान कार्ल डिसुजाले ५० रन जोडे भने आर्यन सक्सेनाले ३४ रन र आर्यन्श शर्माले ३२ रन जोडे । नेपालका लागी दिपेश कँडेलले ५ विकेट लिए भने हेमन्त धामी र सुबास भन्डारीले २-२ विकेट लिए ।  

जितसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत् यु-१९ क्रिकेट टोलीका सदस्यहरूलाई एक-एक लाख रुपैयाँ दिने घोषणा गरेको छ।

क्यानले सरकारसँग आवश्यक सहयोग र पहलकदमी लिन आग्रह गर्ने जनाएको छ।