काठमाडौं - यू–१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले मलेसियामाथि १० विकेटको शानदार जित निकालेको छ। 

यूएईको मलेक क्रिकेट मैदान अज्मानमा मंगलबार टस जितेर ब्याटिङ रोजेको मलेसिया ७२ रनमै समेटिएको थियो। ७३ रनको लक्ष्य नेपालले ९ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो।  

नेपालको जितमा दीपक २९ बलमा ८ चौकासहित ३८ रनमा अविजित रहे। अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहे। 

त्यसअघि मलेसियाका मुहम्मद अक्रम एबीडी मलेकले २६ र ओपनर मोहम्मद हैरिल हरिसनले १२ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मलेसियालाई सस्तैमा समेट्न दीपेशले ४ विकेट लिए। १० ओभर बलिङ गरेका दीपेशले ४ मेडन राख्दै ११ रन मात्र खर्चिए। आफ्नो स्पेलको कुल ६० बलमध्ये दीपेशले ५३ डट बल फ्याकेका थिए। मिलन बोहराले २ विकेट लिँदा सुवास भन्डारी र आकाश चन्दले समान १-१ विकेट लिए।

नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले, दोस्रो खेलमा कुवेतलाई २४३ रनले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको थियो। ४ खेलबाट ८ अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ३ खेलबाट ६ अंक जोडेको यूएई दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको मलेसियाको ४ खेलबाट २ अंक छ। चौथो स्थानको सिंगापुरको पनि २ अंक नै छ। पाँचौँ स्थानको हङकङले २ अंक जोड्दा कुवेत भने हालसम्म अंकविहिन छ। 

छनोटमा नेपालसँगै, घरेलु टिम यूएई, हङकङ, मलेसिया, सिंगापुर र कुवेत सहभागी छन्। प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलंकामा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।