काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-कुरिनटार सडकखण्डको घोप्टेभिरमा सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारी चालकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नागढुंगा-मुग्लिन सडक योजना कार्यालयका अनुसार घोप्टेभिरमा आज पनि सुक्खा पहिरो खसेको छ । उक्त क्षेत्रमा जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ । हतार नगरी, पहिरो खस्ने क्षेत्र पार गर्दा सतर्क रहन र सडक ट्राफिक नियमको पूर्ण पालना गर्न पनि यात्रु तथा चालकलाई अनुरोध गरिएको छ ।

पहिरो पन्छाएर सडकमा एकतर्फी भए पनि यातायात सञ्चालन गर्न आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको छ ।

पहिरो नियन्त्रण तथा सडक सञ्चालनलाई सहज बनाउन आवश्यक काम अघि बढाइएको कार्यालयले जनाएको छ । त्यहाँ केही दिनअघि ढुंगा खसेर लाग्दा मोटरसाइक चालकको मृत्यु भएको थियो ।