काठमाडौं - गत फागुन २ गते सोमबार गोंगबुको नयाँ बसपार्कमा यातायात मजदुरको आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। 

उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालसहित ५ जना छन्। समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।

आन्दोलनकारी यातायात मजदुरले माछापोखरीमा बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडीमा आगजनी गरेका थिए।

यस्तै ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि र डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिबाट मोबाइल लगायतका सामान लुटपाट भएको थियो।

डीएसपी विष्टले सो घटनामा उचित सुरक्षा व्यवस्थापन गर्न नसेको भन्दै उनलाई बालाजु वृतबाट हटाइएर उपत्यका प्रहरी कार्यालय रानिपोखरी तानिएको छ।