काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवाको लागी निश्चित मापदण्ड बनाउने बताएका छन्। 

मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भने, 'कर्मचारीभित्र सरुवा गरेको ठाउँमा नजाने, कतिपय सधैँभरी एकै ठाउँमा बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ। कर्मचारी सरुवाको हामी निश्चित मापदण्ड बनाउन छलफल गर्दैछौँ।'

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशलाई खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए। संघीय निजामती ऐनमार्फत् सबै विषयहरूलाई व्यवस्थित बनाउने उनले बताए। संघीय निजामती ऐन संसदमा टेबुल गर्ने मन्त्री मोदीको अन्तिम तयारी छ।