काठमाडौं - खानेपानी मन्त्री अब्दुल खानले नेपालको खानेपानी खाडी मुलुकमा बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने बताएका छन्। 

बिहीबार सिंहदरबारमा खानेपानी समस्या समाधानका लागि टोल फ्रि नम्बर सार्वजनिक गर्दै मन्त्री खानले मुलुकभर नै सर्वसुलभ रूपमा खानेपानी पुर्‍याएर अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताएका हुन्। उनले खाडी मुलुकमा मात्रै नेपालको खानेपानी बिक्री गर्न सके मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने धारणा राखे।

सिंहदरबारमा खानेपानी पुर्‍याउने र कल सेन्टरको काम पूरा भएको भन्दै उनले अब मन्त्रालयको ध्यान विमानस्थल, बसपार्क लगायत सार्वजनिक स्थानमा धारा जडान गर्नेमा रहेको बताए। उनले जनताको घरको धारामा आउने पानीप्रति विश्वास बढाउनका लागि प्रधानमन्त्रीलाई नै धाराको पानी खुवाउने कार्यक्रम गर्न लागिएको बताए। 

मन्त्री खानले अहिले पानीको व्यापार अनियन्त्रित हुँदै गएको र पानी माफियातन्त्र देखिएकाले यसलाई नियन्त्रण गर्ने जिकिर गरे। उनले काठमाडौंको सुन्दरीजलमा नै सरकारले जार बोतल उत्पादन गर्ने उद्योगहरू स्थापना गर्न सकिने धारणा राखे। 

मन्त्री खानले खानेपानी सम्बन्धी सम्पूर्ण गुनासो समस्या कल सेन्टरमार्फत राख्न सक्ने र सरकारले समाधान गर्ने प्रतिवद्धता जनाए।