काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिनु सरकारमा राणाकालीन प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् ।

उनले नेपालमा राणा शासनको बिदा फेरि आएको हो? भन्दै प्रश्न गरे । ’देव शमशेर ८ महिना मन्त्री हुँदा २ महिना जुवा फुकुवा गरेको भन्ने आएको छ ।  भीमशमेशर ८ पटक जुवा फुकाएको र ५ दिन सिंदुर जात्रा गर्न विदा दिएको भन्ने छ,’उनले भने के नेपालमा राणा शासनको बिदा फेरि सुरु भएको हो ?

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सुवालले राणाकालमा मन्त्रीहरूले मनलाग्दी बिदा दिने गरेको र अहिलेको सरकारमा पनि त्यही प्रवृत्ति देखिएको भन्दै यसरी आपत्ति जनाएका हुन् ।

साथै सांसद सुवालले राष्ट्रपतिको सवारीका क्रममा सधैंजसो सडक जाम हुँदा नागरिकले दुःख पाउने गरेको बताए । उनले भने,’अस्ती राष्ट्रपतिको सवारीका क्रममा सितल निवासबाट बानेश्वरसम्म निकै जाम भयो । म आफैं पनि दुई घन्टा जाममा फसे । लाखौं लाख जनतालाई सास्ती भयो । राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गृहमन्त्रीको जिम्मेवारी लिनु भएका प्रधानमन्त्रीले किन जिम्मा लिनु भएन यसबारे संसदमा बोल्न दिनु जरूरी छ’ उनले भने ।