काठमाडौं - आन्दोलनमा उत्रिएका यातायात मजदुर र सरकारबीच पाँच बुँदे सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार भएको वार्तामा पाँचबुँदे सहमति भएको हो ।

काठमाडौं उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनका सम्बन्धमा उठेका विषयका सम्बन्धमा माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यातायात सुचारु सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई अनुरोध गर्ने सहमति भएको छ । 

यस्तै, सोमबार गोंगबु नयाँ बसपार्कमा मजदुरले गरेको कार्यक्रममा लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई तत्काल रिहाइ गर्ने सहमति भएको छ ।

माघ ११ गते समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकाले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने, माघ २९ मा गठित यातायात सुधार कार्यदलमा सरोकारवाला सम्बद्ध महासंघ, संघ र संगठनका प्रतिनिधिहरूलाई आवश्यकता अनुसार आमन्त्रण गर्ने सहमति पत्रमा उल्लेख छ ।

‘काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच गोंगबुस्थित नयाँ बसपार्कको लागि भएको सम्झौताका सम्बन्धमा काठमाडौं महानगरपालिकाबाट प्राप्त प्रतिवेदन अध्ययन गर्ने,काठमाडौं महानगरपालिकाले यसको अनुगमन गर्ने साथै उक्त प्रालि,महानगरपालिका र सम्बद्ध मजदुर संघसंगठन र यातायात व्यवसायी महासंघबीच छलफल गर्ने र यसको संयोजन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गर्ने,'सम्झौता पत्रमा भनिएको छ।'