काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। 

सोमबार धुम्बाराहीस्थित देउवा निवासमा उनीहरूबीच नेपाल र भारतको द्विपक्षीय हितमा छलफल भएको हो। दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

'भारतका विदेश सचिव विनय मोहन क्वात्रासँगको भेट उपलब्धिमूलक रह्यो। हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौं र जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं। हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो,' सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा आजै मात्र नेपाल आइपुगेका हुन्।