काठमाडौं - यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सम्पूर्ण यातायात नचलाउने घोषणा गरेका छन्। 

यातायात मजदुर संयुक्त विज्ञप्ति जारी गर्दै सवारी नचलाउने घोषणा गरेका हु्न्। 

विज्ञप्तिमा भनिएको छ, 'हाम्रा पूर्व निर्धारित कार्यक्रमलाई जोड्दै हाम्रा फागुन २ देखि सम्पूर्ण १० बुँदे मागहरू पूरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधनहरु बन्द हुने जानकारी गराउदछौं।'

उनीहरूले श्रमिकहरूमाथि आक्रमण गर्ने सबै आक्रमणकारीहरुलाई तत्काल प्रहरी नियन्त्रणमा लिई कारबाही गर्न माग गरेका छन्। 

यसैबीच आन्दोलनका क्रममा यातायात मजदुरहरूले प्रहरीको भ्यान जलाएका छन्। 

'आक्रमणबाट दर्जनौं मजदुरहरू तथा संगठनका नेताहरु घाइते भएका छन् कतिपय मजदुरहरुलाई प्रहरीले पक्राउ गरेको छ। साउन्ड सिस्टम तोडफोड गरिएको छ। यस घटनामा आक्रमणकारीहरुलाई नियन्त्रण गर्नु पर्नेमा मजदुरहरुलाई नै बल प्रयोग गरी मजदुरहरुलाई निरुत्साहित बनाउने काम गरेको छ', विज्ञप्तिमा भनिएको छ। 

ट्राफिक नियमले सास्ती बनाएको भन्दै सडकमै प्रदर्शन

यातायात मजदुरहरूले ट्राफिक नियमविरुद्ध प्रदर्शन गर्दै बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन्। 

बीच सडकमा सवारी साधन तेर्साएर बालाजु चोकमा मजदुरहरूले प्रदर्शन गर्दा यातायात सेवा नै अवरुद्ध बनेको थियो। 

ट्राफिक नियम मजदुरमैत्री नभएको भन्दै बालाजु चोकदेखि माछापोखरीसम्म सडक अवरुद्ध भएको हो। ट्राफिकले मनपरी चिट काटेको मजदुरहरूको गुनासो छ। उनीहरूले गौशाला, चक्रपथलगायतका स्थानमा सडकमै गाडी तेर्साएर ट्राफिकले मनपरी गरेको भन्दै प्रदर्शन गरेका थिए।