काठमाडौं - चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।
आइतबार बसेको निर्वाचन आयोगको बैठकले निर्वाचन ऐन,२०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते चितवनको निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।
चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि उनको सांसद पद गुमेको छ। प्रतिनिधिसभा सदस्य रिक्त सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।
२०७४ को दफा ७ बमोजिम आयोगले स्वीकृत गरी उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।
त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते,उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुनेछ ।


0 comment