काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. जनिथलाल सिंहलाई कुटेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल चिकित्सक संघले शनिबार वक्तव्य जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ।
सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय भएको संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए।
संघले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भिभिआईपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौंको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएकोप्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ।’
नागरिकलाई सास्ती दिने सवारीका नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको संघले बताएको छ।
यसैबीच, डा. सिंहमाथि विर अस्पताल अगाडि कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङ निलम्बनमा परेका छन्।
सवारीका क्रममा ट्रमा सेन्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठी चार्ज गरी घाइते बनाएको थियो।



0 comment