काठमाडौं - १०० शय्याको अस्पतालका रूपमा स्तरोन्नतिको क्रममा रहेको कागेश्वरी मनोहरा नगर अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) स्थापना गर्ने प्रक्रिया अघि बढेको छ।

नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा शनिबार नेपाल रेडक्रस सोसाइटी, नगर अस्पताल र नगरपालिकाका प्रतिनिधिबीच भएको विशेष बैठकले रक्तसञ्चार सेवा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बैठकमा रक्तसञ्चार सेवाका लागि आवश्यक आधुनिक उपकरण तथा प्रविधिको व्यवस्थापन, अस्पतालको व्यवस्थापकीय जिम्मेवारी तथा नगर क्षेत्रभित्र रक्तदान र रक्तसंकलन अभियानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

अस्पतालमा स्थापना गरिने रक्तसञ्चार सेवाको भौतिक लेआउट तथा डिजाइनलाई अन्तिम रूप दिने कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ। सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा उपकरण व्यवस्थापनका लागि छिट्टै टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

नगर अस्पतालको स्तरोन्नतिसँगै स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले रक्तसञ्चार सेवा स्थापना गर्न लागिएको हो। योसँगै अस्पताल थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास हुनेछ ।