काठमाण्डौं – नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिंदा सुदूरपश्चिमको मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल पद मुक्त भएका छन् । 

सुरुमा रावललाई समर्थन गर्ने भन्दै उन्मुक्तिका ७ सांसदले हस्ताक्षर गरेका थिए । उक्त हस्ताक्षरसहित बहुमत सदस्यको दाबीसहित रावल सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए । तर एकमहिनामा विश्वासको मत लिनुपर्ने सवैंधानिक व्यवस्थाअनुरुप शुक्रबार विश्वासको मत मागेका रावललाई नागरिक उन्मुक्ति पार्र्टीले साथ दिएन । परिणाम स्वरुप उनी मुख्यमन्त्रीबाट बाहिरिन बाध्य भएका हुन् । 

‘टीकापुर घटनामा संलग्न रहेका रेशम चौधरीलाई कारागारबाट छुटाउननसक्दा सरकार ढलेको हो,’ भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘झगडियालाई हामीले कसरी छुटाउन सक्छौं र ? उहाँलाई त अदालतले फैसला गर्ने हो । हामीले छुटाउनलाई हामी अदालत त हाईनौ नि ?

विश्वासको मत नपाई पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले झगडियालाई छुटाउन नसक्दा आफ्नो सरकार ढलेको बताएका छन् । 

थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरिक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका दुई तथा एक जना बालकसहित ८ जनाको मृत्यु भएको थियो । जसलाई टीकापुर घटना भनिन्छ ।  

नाउपाले आफ्ना माग पूरा नभएको भन्दै सरकारलाई विश्वासको मत दिन नसकिने पार्टीकी अध्यक्ष रञ्जीता चौधरीले बताएकी थिईन ।  घटनाको मुख्य योजनाकारको अभियोग लागेका रेशमलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारागारको सजाय सुनाएको थियो । उनकै संरक्षणमा खुलेको नागरिक उन्मुक्ति पार्टीले रेशमलगायत कैदीलाई छुटाउँनुपर्ने मुख्य माग राख्दै आएको छ ।