काठमाडौं - शिक्षण शुल्क वृद्धिको विरोधमा काठमाडौंको चक्रवर्ती ल कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन्।

बिहीबार काठमाडौंको माइतीघरमा उनीहरूले विद्यार्थीबाट मनपरी महंगो शुल्क लिएपनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बुधबार बिजुलीबजारमा रहेको कलेज परिसरमा विरोध जनाएका थिए।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विद्यार्थीमाथि दमन गर्न पाइँदैन,विद्यार्थीलाई लुट्न पाइँदैनलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। कलेजले १० लाख ७० हजार शुल्क लिएपछि त्यहि अनुसार सेवा सुविधा दिनुपर्ने वा शुल्क घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन दिने धम्की दिएको विद्यार्थीको भनाइ छ। 

उनीहरूले चक्रवर्ती ल कलेजमा पढिरहेका ३०० विद्यार्थीमध्ये ३० जनालाई छात्रवृति दिनुपर्ने भएपनि कलेजले १० जनालाई मात्रै छात्रवृतिमा पढाइरहेको उनीहरूको आरोप छ।

यसअघि पनि शिक्षण शुल्क वृद्धिको विरोधमा उक्त कलेजका विद्यार्थीहरूले आन्दोलन गरेका थिए।