काठमाडौं - गत माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको यति एयरको दुर्घटनाको प्रारम्भिक रिपोर्ट आएको छ।
रिपोर्ट अनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका दुवै इञ्जिनका प्रोपेलरहरू फेदर भएको पाइएको छ। दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N-ANC जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर भएको देखिएको जनाएको छ।
प्रोपेलरहरू फेदर हुँदा इञ्जिनका ब्लेडहरु जहाजसँग समानान्तर हुन पुग्दछन् जसले गर्दा जहाजको गती र खिचाई दुबै कम हुन गई जहाज रोकिने अवस्थामा पुग्दछ।
उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर किन फेदर भयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ।
दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो।
उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो।
यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो।
0 comment