काठमाडौं - नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्युरोले १२ जना महिलालाई भारतबाट उद्दार गरेको छ ।

व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुराई दुवईहुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको अवस्थामा १२ जना महिलालाई उद्दार गरिएको जनाएको हो । 

उद्दार भइ आएका महिलाहरूमध्ये २०-३० वर्ष उमेर समूहका २ जना,३१-४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका छन्।

महिला मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न व्युरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरूको उद्दार गरिएको व्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

नेपालबाट भारत लैजाने क्रममा जोगमनी,काकडभित्ता,जमुनाह,सुनौलिलगायतका नाकाहरू प्रयोग हुने गरेको उनले बताए । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुनेसक्ने भन्दै उनीहरूको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

त्यस्तै, व्युरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्दार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको व्युरोका निर्देशक श्रेष्ठले जानकारी दिए।

मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयाँदिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।