काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्‍धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

युवा स्पोर्ट्स क्लब पर्साको १ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमिसुधार आयोगका प्रमुख कमोद तिवारी, नायब सुब्बा शम्भु साह रौनियार, खरिदार शिवप्रसाद साह तेली र रिन्ता कुमारीविरूद्ध मुद्दा दायर गरेको हो। 

यस्तै,मतियारको रुपमा वीरगंज महानगरपालिका ३१ का शेष सफि अहमद र शेख साजिद एकबालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारको ठहर छ।

पर्साको वेल्वा गाउँपालिका ८ स्थित युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गैरकानुनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएकाले कार्यालय प्रमुख तिवारीसहित ६ जनाविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम कसूर तथा सजायको माग दावीसहित आरोपपत्र दायर गरिएको छ।