काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी शवगृह निर्माण गर्ने योजना अघि सारेको छ ।
मन्त्रालयले देशका विभिन्न १२ वटा सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रत्येक अस्पतालमा कम्तीमा ५० शव अट्ने क्षमताको शवगृह निर्माण गर्ने भएको छ ।
कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माणका लागि प्रक्रिया अघि बढाइनेछ ।
त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला, पाटन, पोखरा, राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा क्षमता विस्तार गरिनेछ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा देखिएका कठिनाइ र पछिल्लो भोटेकोशी बाढीमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थालाई ध्यानमा राख्दै अस्पतालमा यस्तो पूर्वाधार आवश्यक रहेको बताइन् ।
विपद् व्यवस्थापन सिकाइका आधारमा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री मेहताले फरेन्सिक मेडिसिनको महत्त्व बढ्दै गएको तथा मेडिको–लिगलसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताइन् ।
विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्दै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा वैज्ञानिक बनाउन तथा फरेन्सिक र मेडिको–लिगल सेवा विस्तारमा सहयोग पुर्याउने उद्देश्यले यस्तो पूर्वाधार विकास गर्न लागिएको हो ।


0 comment