बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृह पठाउने आदेश दिएको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले अर्को आदेश नहुँदासम्मका लागि दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश दिएको हो।

बालिका हत्या प्रकरणमा १२ जना पक्राउ परेपनि नाबालकको हकमा २१ दिनभित्र अदालतमा पेश गर्नुपर्ने कानूनी प्रावधानका कारण जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई अदालतमा पेश गरेको हो। प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको छ।

अदालतमा नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, जाहेरवालाका तर्फबाट कानून व्यवसायी चन्द्रिकाप्रसाद यादव र डा. सुशील साहले कानूनको विवादमा परेका बालकले गम्भीर अपराध गरेको भन्दै थुनामा राखी पुर्पक्ष गरी पाऊँ भनी बहस गरेका थिए। यसैगरी जिल्ला बार एकाइको तर्फबाट अधिवक्ता उमेशप्रसाद जयसवाल र परमहंश केसरीले लामो समयको योजना बनाई नाबालिकाको अपहरण, बलात्कार र हत्या गरेको देखिएकाले दुवै नाबालकलाई कारागार चलान गरी पुर्पक्ष गर्न आग्रह गरेका थिए।

अधिवक्ताको बहस, प्रहरीको प्रतिवेदन, स्वास्थ्य परीक्षण तथा पोलिग्राफ परीक्षण रिपोर्ट अध्ययनपछि न्यायाधीश अधिकारीले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा २४ को (२) को खण्ड (क) बमोजिम निजहरूको जिउ ज्यान जोखिममा पर्न सक्ने अवस्थालाई विचार गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम बाल सुधार गृहमा पठाउने आदेश दिएका हुन्। उनीहरूबाट तत्कालै पीडित पक्षले पाउने गरी दुई लाख क्षतिपूर्ति उपलब्ध गराउन समेत आदेश भएको छ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म दुई नाबालक बाल सुधार गृहमा रहनेछन्। घटनाको अनुसन्धानका लागि पक्राउ परेका अन्य १० जनालाई पनि अदालतमा पेश गर्ने तयारी भइरहेको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए।

'कानूनी प्रावधान अनुसार नाबालकलाई अदालत पेश गरेका छौँ। अदालतबाट बाल सुधार गृह पठाउने आदेश भएको छ,' कुँवरले भने, 'हिरासतमा रहेका अन्य १० जनालाई पनि अदालतमा बुझाउने तयारी भइरहेको छ।'

प्रहरीले पीडितको जाहेरीका आधारमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेस चौधरीसहित उनको परिवारका सदस्य र अन्य गरी १० जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको थियो। प्रोग्रेसको घरमा खेल्न गएका बेला बालिका बेपत्ता भएको पीडित पक्षको भनाइ छ।

साउन ३१ गते बेपत्ता भएकी बालिका भदौ २ गते साँझ जीतपुरसिमरा–१ भक्तिनगरस्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव बलात्कार गरी हत्या गरिएको अवस्थामा फेला परेको थियो। बालिकाको शव भेटिएलगत्तै प्रहरीले प्रोग्रेस र १६ वर्षका एक नाबालकलाई पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै नाबालकले घटना आफूले गरेको स्वीकार गरेका थिए। तर केही समयपछि सार्वजनिक भएको एक भिडियोमा उनले अर्को एक बालक समेत संलग्न रहेको बताएका थिए। उक्त भिडियो सार्वजनिक हुनुअघि नै ती बालक पक्राउ परिसकेको प्रहरीको भनाइ छ।

कलैया प्रादेशिक अस्पतालको ओसीएमसीका क्रममा खिचिएको उक्त भिडियो लिक भएपछि बारा प्रहरीले प्रहरी हवल्दार कुमार विकलाई थुनामा राखी अनुसन्धान गरिरहेको छ। उक्त भिडियो खिच्ने क्रममा अस्पतालमा रहेका अन्य प्रहरी कर्मचारीलाई समेत विभागीय कारबाही हुने बताइएको छ।

बालिकाको शव फेला परेलगत्तै देशभर आन्दोलन भएको थियो। पीडित परिवार र स्थानीयले पथलैया–वीरगञ्ज सडकखण्डमा भदौ ३ गतेदेखि राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। गरिमाको न्यायका लागि देशभर आन्दोलन चर्किरहेकै बेला पीडित परिवारलाई भदौ ६ गते गृह मन्त्रालयमा लगेर वार्ता गरिएको थियो। वार्तामा सहमति भएलगत्तै भदौ ७ गते बालिकाको कलैयास्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।