काठमाडौं - विराटनगर महानगरपालिका–३ साइबाबाचोकस्थित व्यावसायिक सटरहरूमा आगलागी हुँदा करिब ६८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान करिब २:३० बजेतिर मेघराज कोइरालाको घरमा रहेका सटरहरूमा अचानक आगलागी भएको हो ।
घरका सटर भाडामा लिएर विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका पसलमा आगलागी हुँदा विद्युतीय सवारीसाधनदेखि मोटर पाट्र्स र नास्ता पसलका सामानसम्म जलेर नष्ट भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर–२ का श्याम साहले सञ्चालन गर्दै आएको विद्युतीय सवारीसाधनको शोरुमका दुईवटा सटरमा सबैभन्दा बढी क्षति भएको छ ।
आगलागीबाट चारवटा विद्युतीय सिटी सफारी,एउटा विद्युतीय स्कुटर,चारवटा विद्युतीय साइकल,चार थान लिथियम ब्याट्री,मदिरा डिलरका सामानसहित अन्य सामग्री जलेर नष्ट भएका छन् । शोरुममा मात्रै करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी विराटनगर–७ का श्याम चौहानले सञ्चालन गर्दै आएको मोटर पाट्र्स पसलमा पनि आगलागी भएको छ । पसलमा रहेका गाडी तथा मोटरसाइकल ग्यारेजका सामान, मोबिल, ग्रिज, ब्रेक आयल,इन्जिन आयल,मोबिल फिल्टर,कुलिनलगायतका सामग्री जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँको क्षति भएको डीएसपी मिश्रले बताए ।
विराटनगर–२ का मोहमद अजादले सञ्चालन गर्दै आएको मोटर पाट्र्स पसलमा पनि आगलागीबाट क्षति पुगेको छ । पसलमा रहेका मोटर पाट्र्स,टायर,ब्याट्री चार्जर तथा ग्यारेजका अन्य सामान जलेर नष्ट हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, विराटनगर–३ की सुष्मा खड्काले सञ्चालन गर्दै आएको नास्ता पसलमा पनि आगलागी भएको छ । आगलागीबाट टेबल,कुर्सी,पंखा,फ्रिजलगायतका सामग्री जलेर नष्ट भएका छन् । उक्त पसलमा करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार व्यावसायिक सटरहरूमा भएको आगलागीबाट करिब ६८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगो लागेको सूचना पाएपछि प्रहरी,विराटनगर महानगरपालिकाको दमकल र स्थानीय घटनास्थलमा पुगेका थिए । उनीहरूको प्रयासमा करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


0 comment