काठमाडौं - भारतीय वायुसेनाका दुईवटा (C-130J) विमानमार्फत ल्याइएको २१.५ टन मानवीय सहायता सामग्री बिहीबार राती काठमाडौँ आइपुगेको छ।

गत बुधबार चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवास्थित भोटेकोशी नदीमा पुगेको क्षति र प्रभावितहरूको उद्धार, खोजी तथा व्यवस्थापनका लागि छिमेकी मुलुक भारतले उक्त सहायता सामग्री पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त राहत सामग्री भारतका प्रतिनिधि /राजदूतद्वारा नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको हो।

प्राप्त मेडिकल तथा उद्धार सामग्रीहरू बाढीप्रभावित क्षेत्रमा अविलम्ब पठाएर राहत तथा उद्धार कार्यमा प्रयोग गरिने जनाइएको छ। योसँगै भारतले जम्मा सातवटा उडानमार्फत राहत सामग्री र विशेषज्ञसहितको उद्धार टोली नेपाल पठाएको हो।