काठमाडौं - भोटेकोशी बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका दुईजनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। नेपाली सेना तथा अन्य उद्धार टोलीले मेकानिकल इन्जिनियर सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको उद्धार गरेको हो।
उद्धार गरिएका साहले सुरुङभित्र अझै तीन–चार जना रहेको जानकारी दिएका छन्। उद्धार टोलीले सुरुङभित्र कति जना रहेको भनेर सोध्दा उनले तीन–चार जना रहेको बताएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सुरुङभित्र रहेका सबैजना सुरक्षित छन्। बाँकी व्यक्तिको उद्धारका लागि समेत प्रयास भइरहेको छ।
महर्जनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको प्रहरीले जनाएको छ। महर्जनलाई हाइपोथर्मिया (शरीरको तापक्रम अत्यधिक घट्ने अवस्था) भएको र हातखुट्टा चलाउन नसक्ने अवस्था रहेको बताइएको छ।उनको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रिफर गरिएको छ।
सुरुङभित्र अझै रहेका भनिएका अन्य व्यक्तिको उद्धारका लागि उद्धार टोली परिचालन गरिएको छ।


0 comment