काठमाडौं - कागेश्वरी-मनोहरा नगरपालिका–५ ले विद्यालय, मठ–मन्दिर तथा सार्वजनिक स्थल आसपास मदिरा र सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा कडाइ गरेको छ। वडाले तोकिएको क्षेत्रभित्र सञ्चालनमा रहेका त्यस्ता व्यवसाय तथा सामग्री सात दिनभित्र हटाउन व्यवसायीलाई निर्देशन दिएको हो।
वडा अध्यक्ष शंकर पाण्डेले जारी गरेको सूचनामार्फत विद्यालय, मठ–मन्दिर र सार्वजनिक स्थलको कम्तीमा १०० मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण र सेवन नगर्न आग्रह गरिएको छ। तोकिएको समयभित्र पसल वा सामान नहटाए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
मदिरा ऐन, २०३१ र सुर्तीजन्य पदार्थ नियमनसम्बन्धी कानुनी व्यवस्थालाई आधार बनाएर वडाले यसलाई कार्यान्वयनमा ल्याएको हो।
वडाध्यक्ष पाण्डेका अनुसार बालबालिका तथा विद्यार्थीलाई सानै उमेरमा कुलतमा फस्नबाट जोगाउन र विद्यालय परिसरमा अनुशासित तथा स्वस्थ वातावरण कायम गर्न यस्तो निर्णय गरिएको हो। मठ–मन्दिरजस्ता धार्मिक स्थलको मर्यादा संरक्षण गर्नु पनि स्थानीय निकायको दायित्व हो ।
सार्वजनिक स्थलमा हुने मद्यपान तथा धुम्रपानका कारण गाउँ–टोलमा उत्पन्न हुने झै–झगडा र सामाजिक विकृति नियन्त्रण गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सुरक्षित वातावरण निर्माणमा निर्णयले सहयोग पुग्ने वडाको विश्वास छ।
‘स्वच्छ, सफा, हराभरा, बनाऔँ कागेश्वरी मनोहरा’ अभियानलाई सार्थक बनाउन तथा जनस्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले चालिएको कदमलाई गम्भीरतापूर्वक लिन वडा कार्यालयले स्थानीय व्यवसायी, नागरिक समाज तथा वडावासीलाई पनि आफ्नो सामाजिक उत्तरदायित्व निभाउनआग्रह गरेको छ।


0 comment