काठमाडौं - प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन, प्रसारण तथा सीमापार विद्युत् व्यापारमा पर्न सक्ने जोखिमको अध्ययन गर्न नेपालको नेतृत्वमा दक्षिण एसियाली मुलुकहरू सम्मिलित अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय प्राविधिक कार्यदल गठन भएको छ।
भोटेकोसी बाढीले जलविद्युत् आयोजना, प्रसारण प्रणाली तथा अन्य विद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि विद्युत् क्षेत्रमा प्राकृतिक विपद्को जोखिम व्यवस्थापनलाई क्षेत्रीय तहबाटै अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको हो। कार्यदलमा भारत, भुटान, बंगलादेश र श्रीलंकाका नियामक निकायको सक्रिय सहभागिता रहनेछ।
भारतको हरियाणामा सम्पन्न दक्षिण एसियाली पूर्वाधार नियमन मञ्च (एसएएफआईआर) को कार्यसमिति तथा निर्देशक समितिको बैठकले ‘विपद्–प्रतिरोधी विद्युत् नियमन’ सम्बन्धी प्राविधिक अध्ययन तथा अनुसन्धानका लागि क्षेत्रीय कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको नेतृत्व नेपालको विद्युत् नियमन आयोगले गर्ने छ।
नवनिर्मित कार्यदलले प्राकृतिक विपद्का बेला अपनाउनुपर्ने नियामकीय मापदण्ड, जोखिम बाँडफाँडका संयन्त्र तथा विपद्का अवस्थामा समेत सीमापार विद्युत् व्यापारलाई निरन्तरता दिने कार्यविधिबारे अध्ययन गर्नेछ। अध्ययनका आधारमा दक्षिण एसियाली मुलुकहरूका लागि साझा क्षेत्रीय नियामकीय खाका तयार गर्न सहयोग पुग्ने विद्युत् नियमन आयोगको विश्वास छ।


0 comment