काठमाडौं - गत भदौ १० गते भोटेकोशी तथा त्रिशुलीको बाढीले बगाई ल्याएका ६६ वटा शवहरु गोरखाका बगरहरुमा फेला परेका छन् । गण्डकी र सहिद लखन गाउँपालिकाका त्रिशली किनारमा सात दिनको अवधिमा ६६ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
फेला परेका शवमध्ये छवटा शवको पहिचान भएको छ। गोरखा र यहाँबाट शव पठाइएका पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शवको पहिचान भएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म इलामका दिवानन्द सुवेदी, गोरखा पालुङटारका यमबहादुर थापा, पाल्पाका दीपेन्द्र विष्ट, बैतेश्वर-१ साहुटोल दोलखाका सुजन श्रेष्ठ, ताक्लाकोट-२ हुम्लाका लवकुश शर्मा र विदुर-४ नुवाकोटकी हसना खातुनको शव सनाखत भएको डिएसपी श्रेष्ठले जानकारी दिए।
सनाखत भएका सबै शव आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। पहिचान हुन नसकेका शवलाई ‘जमिनमुनि व्यवस्थापन गर्ने’ सरकारी निर्णयअनुसार हालसम्म ३६ शव व्यवस्थापन गरिएको डिएपी श्रेष्ठले जानकारी दिए। सुरक्षा टोलीले गत शनिबार २९ वटा शव सहिदलखन गाउँपालिका–९ बुंकोटघाटस्थित बुढीगण्डकीको किनारमा व्यवस्थापन गरेको र गत सोमबार थप ७ वटा शव गोरखा नगरपालिका वडा नं. १२ अँबुवाको दरौंदी लुदीखोला दोभानको किनारमा व्यवस्थापन गरेका हुन्।
हालसम्म फेला परेका सग्ला शवहरुमध्य ११ वटा पोखरा पठाइएको र बाँकी शवहरु भने प्रदेश अस्पताल गोरखा र एनपिआई गोरखा हस्पिटलको शवगृहमा राखिएको छ।


0 comment