काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपालका लागि चीन राजदूत झाङ माओमिङले आज भेटवार्ता गरेका छन् ।

सभापति लामिछानेको बूढानिलण्ठस्थित निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उक्त भेटमा राजदूत झाङले भोटेकोशी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्धारदेखि पुनः निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । विपद् लगत्तै उद्धारकर्मी, डिएनए विशेषज्ञ लगायत आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहे सम्म जारी रहने जानकारी उनले दिए ।

सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरे । नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक तथा प्राविधिक सहयोग महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा थप सहकार्यको आग्रह गरे ।