काठमाडौं - भोटेकोसी नदीमा आएको बाढीका कारण ७ हजार ५७० वटा भवनमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ।पछिल्लो अद्यावधिक विवरणअनुसार क्षतिग्रस्त भवनको संख्या ७ हजार ५७० पुगेको हो। यसअघि करिब ५ देखि ६ हजार भवनमा क्षति पुगेको अनुमान गरिएको थियो।
क्षतिको विवरण संकलन तथा भवनको क्षतिको वर्गीकरण गर्ने काम अझै जारी रहेकाले यो संख्या थपघट हुन सक्ने सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले बताए ।
प्रारम्भिक विवरणअनुसार नुवाकोटमा सबैभन्दा बढी ३ हजार ९७७ वटा घरमा क्षति पुगेको छ। नुवाकोटको विदुरमा ३ हजार २६, किस्पाङमा ६९६, बेलकोटगढीमा २९२ र तारकेश्वरमा ४३ घरमा क्षति पुगेको छ।
त्यस्तै, रसुवामा १ हजार ७७९ घरमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा मात्रै १ हजार ४० घर प्रभावित भएका छन्। कालिकामा ११२, आमाछोदिङ्मोमा ५७ र उत्तरगयामा ५६७ घरमा क्षति पुगेको विवरण छ।
धादिङमा १ हजार ४५१ घरमा क्षति पुगेको छ। बेनीघाट रोराङमा १ हजार ३७, गल्छीमा १०७, गजुरीमा ८९ र सिद्धलेकमा २२८ घर प्रभावित भएका छन्।
यसैगरी, गोरखामा २६३ र चितवनको इच्छाकामना गाउँपालिकामा १६१ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। गोरखाको गण्डकी गाउँपालिकामा २४८ र सहिद लखन गाउँपालिकामा १५ घरमा क्षति पुगेको विभागले जनाएको छ।
भौतिक क्षतिको विस्तृत विवरण संकलन र वर्गीकरणको काम जारी रहेकाले प्रभावित भवनको संख्या अझै बढ्न सक्ने विभागले जनाएको छ।


0 comment