काठमाडौं - भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको बाढीले नुवाकोटका नदी किनारका बस्तीहरू बगाउनुका साथै सडक र पुल ध्वस्त पारेपछि ठप्प बनेको आवतजावतलाई तुइन र वैकल्पिक सडकमार्फत पुनः सञ्चालनमा ल्याइएको छ।

बाढी आएको छैटौं दिन सोमबारसम्म सडक सञ्जालबाट विच्छेद भएका क्षेत्रहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा तुइन हालेर तथा वैकल्पिक कच्ची सडक खुलाएर यातायात र राहत वितरणलाई तीव्रता दिइएको छ।

बाढीले १५ वटा पक्की पुल र नौवटा झोलुंगे पुल ध्वस्त पारेपछि त्रिदेशीय सडकमार्गअन्तर्गत पर्नेगल्छी–बिदुर–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी

सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको थियो। आवतजावत ठप्प भएपछि घना जनघनत्व र बढी ओहोरदोहोर हुने क्षेत्रलाई लक्षित गरी बिदुर नगरपालिका–१ को इन्द्रायणीघाट र त्रिशूलीबजार नजिकैको गुम्बा तथा बिदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरी तुइन जडान गरिएको छ।

त्रिशूली नदीको पश्चिमी किनारमा रहेको कच्ची सडक सञ्चालनमा ल्याइ धादिङको कल्लेरीटार, पिमलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म यातायात पहुँच जोडिएको छ। यसबाट सदरमुकाम र प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याैउन ठूलो सहजता मिलेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताए।

बाढीले नुवाकोटका चार वटा स्थानीय तहका ठूला बस्तीहरू पूर्ण रूपमा बगाएको छ। ढुंगे, त्रिशूली, देवीघाट र बेत्रावतीलगायतका बजारहरू हिलो, ढुङ्गा र गेग्रानले पुरिएर उजाडिएका छन्। अति व्यस्त ढुंगे बजारबाट मात्रै पाँच महिलासहित ९ जना हराइरहेको स्थानीयको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बाढी आएको पाँचौँ दिनसम्म ९५ वटा शव संकलन भइसकेको छ। प्रहरी उपरीक्षक विपिन रेग्मीले चार सयभन्दा बढी हेलिकप्टर उडानमार्फत हालसम्म दुई हजार नौ सय ९२ जनाको सुरक्षित उद्धार गरिएको जानकारी दिए। ‘अझै पनि फसेका, पुरिएका तथा घाइतेहरूको खोजी कार्य निरन्तर जारी छ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार बाढीले ठूलो जनधनको क्षति पुर्यानएको र प्रारम्भिक तथ्यांक संकलन भइरहेको छ। बाढीबाट कृषि विकास बैंक, कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, पुरानो जिल्ला कारागार भवन, पशु सेवा कार्यालय र बिदुर–१ को वडा कार्यालयसहित आठ वटा सरकारी भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। यसैगरी त्रिशूली, देवीघाट र त्रिशूली थ्री–एसहित तीनवटा जलविद्युत् गृह तथा चार वटा विद्यालयमा क्षति पुगेको छ। सरकारी तथ्यांकले करिब ८ सय घर ध्वस्त भएको अनुमान गरे पनि स्थानीयका अनुसार क्षति पुगेका घरको संख्या एक हजारभन्दा बढी छ।

यस्तै बिदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटको पश्चिमतर्फको कम्पाउण्ड पर्खाल बगाएको र भुइँतल्ला पुरिएको भए पनि कैदीबन्दीहरू सुरक्षित रहेको प्रजिअ रेग्मीले जानकारी दिए। पुल र मुख्य राजमार्ग पुनर्निर्माणमा समय लाग्ने भएकाले हाललाई तुइन र वैकल्पिक सडकबाटै नागरिकको दैनिक आउजाउ र राहत व्यवस्थापन मिलाइएको छ।