काठमाडौं - नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएका शवका कारण दुर्घन्ध फैलिन थालेपछि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । रसुवा बाढीमा परी नारायणी नदी (गण्डक क्षेत्र) मा फेला परेका सबै शवहरु परासीमा व्यवस्थापन हुन नसकेपछि भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल बुटवल र पिपरा अस्पताल कपिलवस्तुमा पठाइएको छ ।
फेला परेका विभिन्न अस्पतालमा पठाइएका सबै शवहरूको सुनवल नगरपालिका–७ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा व्यवस्थापन भइरहेको छ । नारायणी नदीमा दिनहुँजसो शव फेला पर्ने क्रम जारी रहेको र व्यवस्थापनमा समय लागेको सुरक्षा निकायले जनाएको छ । जसका कारण थपिएका शवले दुर्गन्ध फैलिन थालेको हो । दुर्गन्ध फैलिन नदिनका लागि सबै प्रयास भइरहेको अस्पताल र सुरक्षा निकायले जनाएका छन् ।
तीन जना फरेन्सी चिकित्सकहरुले डीएनए परीक्षण गरिरहेको र शव व्यवस्थापन छिटो गर्नका लागि थप दुई जना चिकित्सकहरुलाई बाहिरबाट बोलाइएको पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बृज यादवले जानकारी दिए ।
मंगलबार बिहानसम्म अस्पतालको पोष्टमार्टम गृहमा ४१ वटा शव छन् । भेटिने क्रम जारी रहेकाले यो संख्या अझ बढ्ने अनुमान गरिएको छ । आज मंगलबार बिहानसम्म १ सय ६९ शव भेटिएकोमा ६८ शवको व्यवस्थापन भइसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले बताए ।
यसैबीच शवका कारण दुर्गन्ध फैलिन सक्ने भन्दै अस्पतालले सूचना निकालेर स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको छ । विपद्को यस दुःखद घडीमा मानवीय संवेदनशील कायम गर्दै सम्भावित सरुवा रोग फैलिन नदिन स्वास्थ्य सावधानी अपनाउन बजारवासीलाई अस्पतालले सूचना निकालेर आग्रह गरेको हो ।
सम्भावित रोगबाट बच्न मास्कको प्रयोग गर्ने, पानी उमालेर वा सुरक्षित प्रशोधित पानी पिउने, शवगृह तथा प्रभावित क्षेत्रको आसपास अनावश्यक भीडभाड नगरिदिन आग्रह गरिएको छ । त्यसैगरी सबै बजारवासीमा संयमित भई शव व्यवस्थापनमा सहयोग गर्न पनि सूचनामार्फत आग्रह गरिएको छ ।


0 comment