काठमाडौं - तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ र आयोजक गण्डकी प्रदेशले जितेको छ। 

महिलातर्फको खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो। पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तेस्रो सेट २५–८ र चौथो सेट २५–२२ ले जित निकाल्दै एपीएफले उपाधि हात पार्‍यो। 

पुरुषतर्फको खेलमा लिग चरणमा बेहोरेको हारको बदला लिँदै गण्डकीले एपीएफलाई ३–२ को सेटमा पराजित ग¥यो। पोखरा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गण्डकी प्रदेशले एपीएफलाई २५–१६ ले सुम्पिएको थियो। दोस्रो सेट भने आयोजक गण्डकीले २५–१८ र तेस्रो सेट २५–१९ अंकले जित निकाल्यो। चौथो सेटमा २०–१६ ले पछि परेको अवस्थालाई उल्टयाउँदै एपीएफले २८–२६ ले जित निकाल्यो। निकै रोमाञ्चक बनेको अन्तिम सेट १५–८ ले सहज जित निकाल्दै गण्डकीले उपाधि चुम्यो।

प्रतियोगिताका विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। उपविजेताले दुई लाख ५० हजार र तेस्रो भएका न्यु डायमन्ड एकेडेमी र नेपाल पुलिस क्लबले एक लाख २५ हजार रुपैयाँ पाए। महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले नगद २५ हजार पुरस्कार प्राप्त गरिन्। यसैगरी उत्कृष्ट लिबेरो आर्मीकी सरस्वती जैसी, स्पाइकर एपीएफकी निरुता ठगुन्ना, सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, ब्लकर आर्मीकी संगम महतो, सेटर न्यु डायमन्डकी प्रगती नाथ र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए। 

पुरुषतर्फ गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी बने। यस्तै गण्डकीका दिवस आले उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो घोषित भए। गण्डकीका घनश्याम चौधरी उत्कृष्ट सर्भर, एपीएफका टेकराज अवस्थी उत्कृष्ट स्पाइकर, गण्डकीका नितिन उत्कृष्ट ब्लकर र गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागततर्फका विजेताले जनही १० हजार नगद पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मालगायतले पुरस्कार प्रदान गरे।