काठमाडौं - भोटेकोसीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट प्रहरीले करिब रु. १ करोड ५० लाख नगद, अनुमानित रु. ५० करोड मूल्य बराबरको सुन तथा महत्वपूर्ण कागजात सुरक्षित रुपमा फेला पारेको छ।

बाढीका कारण बैंकको भवनमा ठूलो क्षति पुगेपछि शाखाभित्र रहेका नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित स्थानमा सार्न प्रहरीलाई कठिनाइ भएको थियो। करिब आठ घण्टासम्म निरन्तर प्रयास गरेपछि प्रहरीले ती सामग्री सुरक्षित स्थानमा सार्न सफल भएको जनाएको छ।

बाढीका कारण शाखामा कार्यरत केही कर्मचारी अझै सम्पर्कविहीन रहेको बताइएको छ। सम्पर्कविहीन कर्मचारीको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन प्रहरीले प्रयास गरिरहेको जनाएको छ।

यसअघि बाढीका कारण नदीमा बग्दै गरेको बैंकको भल्ट नियन्त्रणमा लिएर त्यसमा रहेको रकम बाँडफाँड गर्ने प्रयासमा संलग्न १६ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको थियो।

भोटेकोसीमा आएको बाढीले बैंकिङ क्षेत्रसमेत ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण विभिन्न ६ वटा बैंकका शाखा पूर्णरुपमा ध्वस्त भएको जनाइएको छ। बाढीपछि बैंकका सम्पत्ति तथा महत्वपूर्ण कागजातको सुरक्षा चुनौतीपूर्ण बनेको अवस्थामा प्रहरीले उद्धार तथा संरक्षणको कामलाई तीव्रता दिएको जनाएको छ।