काठमाडौं - भोटेकोसी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि फेला परेनन्। नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित गरिएको विस्तृत खोजीपछि सुरुङभित्र मानवीय उपस्थिति नरहेको निष्कर्ष निकालिएको हो।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको उद्धार टोली खोजीमा परिचालन भएको थियो। टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्नुका साथै ड्रोन उडाएर समेत निरीक्षण गरेको थियो। तर, सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा पनि कुनै मानिस वा मानवीय उपस्थितिको संकेत फेला नपरेको सेनाले जनाएको छ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको उद्धार टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ। भोटेकोशी नदीमा बाढी आएपछि आयोजनाको सुरुङभित्र मानिस फसेको हुन सक्ने आशंकामा उद्धार टोली परिचालन गरिएको थियो।


0 comment